सिंहको ह’त्या कि भवितव्य !
किरणमान बज्राचार्य
कपिलवस्तु, साउन २७ । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंहको मृत्युको घटना रहस्यमय बनेको छ। गत साउन २४ गते गोरुसिंगे जंगलको घना झाडीभित्र मृत अवस्थामा फेला परेका ६५ वर्षीय सिंहको मृत्यु हत्या वा भवितव्य के हो भन्ने अझै स्पष्ट हुन सकेको छैन।
सिंह गत शुक्रबार दिउँसो करिब १:३० बजे कपिलवस्तु नगरपालिका–३ देववगढियास्थित घरबाट गोरुसिंगेको ढेकरीमा रहेको आफ्नो व्यावसायिक फर्मतर्फ गएका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएका थिए। शुक्रबार दिउँसो ३:३१ देखि साँझ ५:४५ बजेसम्म उनी विभिन्न व्यक्तिसँग फोन सम्पर्कमा थिए। यही सवा २ घण्टाको अवधिमा आखिर के भयो भन्ने प्रश्न अहिले घटनाको मुख्य रहस्य बनेको छ।
तीन दिनपछि आइतबार दिउँसो करिब १२ बजे बैकुण्ठपुरका स्थानीयवासीले घना झाडीभित्र सिंहको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
बाटो बिराएको बताएका सिंह कसरी पुगे घना झाडीमा?
सिंहले फोन सम्पर्कका क्रममा आफूले बाटो बिराएको, बाटोमा फसेको र खोला समेत रहेको भन्दै सहयोगका लागि आग्रह गरेका थिए। स्वास्थ्यका कारण लामो दूरी हिँड्न कठिन हुने व्यक्ति त्यस्तो अप्ठ्यारो बाटो हुँदै मोटरसाइकलमा कसरी पुगे र त्यसपछि खोला पार गरेर घना झाडीभित्र कसरी पुगे भन्ने प्रश्न उठेको छ।
सिंह प्रेसर, दम र पेटसम्बन्धी समस्याबाट पीडित थिए र नियमित औषधि सेवन गर्थे। उनको घुँडाको समेत शल्यक्रिया भएको थियो। स्वास्थ्य अवस्थाकै कारण उनलाई ५०–१०० मिटर हिँड्नसमेत कठिन हुने आफन्तहरू बताउँछन्।
गोरुसिंगे जंगल र ढेकरी क्षेत्रसँग सिंह परिचित थिए। ढेकरीमा व्यावसायिक फर्म सञ्चालन गरेपछि उनी त्यस क्षेत्रमा नियमित आउजाउ गर्ने गर्थे। त्यसैले परिचित जंगलमा अचानक बाटो बिराउनु, साँघुरो र पानीले हिलाम्य भएको बाटोमा मोटरसाइकल चलाउनु तथा त्यसपछि खोला पार गरेर घना झाडीमा पुग्नुले घटनालाई थप रहस्यमय बनाएको छ।
सिंहले प्रयोग गर्ने लु प्र ०१३ प ७९७० नम्बरको एभेन्जर मोटरसाइकल र शव फेला परेको स्थानबीच करिब ७ सय मिटर दूरी छ। शव फेला परेको स्थानमा पुग्न खोला पार गर्नुपर्ने र खोलाबाट करिब २ सय मिटर पर घना झाडी रहेको बताइएको छ।
‘साँघुरो र गाह्रो ठाउँमा कसरी मोटरसाइकल हिँडाइयो?’ सिंहका आफन्त इन्द्रजित सिंहले प्रश्न गरे, ‘आफैँलाई हिँड्न गाह्रो पर्ने मान्छेले त्यसरी त्यहाँ बाइक लैजानै सक्दैन।’
उनका अनुसार मोटरसाइकलदेखि शव फेला परेको स्थानसम्मको दूरी र बीचमा पर्ने खोलासमेत हेर्दा अस्वस्थ व्यक्ति त्यस्तो घना झाडीमा कसरी पुगे भन्ने प्रश्नको जवाफ खोजिनुपर्ने देखिन्छ।
‘त्यस्तो घना झाडीमा अस्वस्थ मान्छे किन र कसरी पुग्न सक्छ?’ इन्द्रजितले प्रश्न गर्दै घटनाको गहन अनुसन्धान गर्न माग गरे।
उनले सिंह फोन सम्पर्कमै रहेको अवस्थामा समेत प्रहरीले मोबाइलको लोकेसन पत्ता लगाउन नसक्नु दु:खद भएको बताए। आधुनिक प्रविधिको प्रयोगबाट अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ। मोटरसाइकललाई घटनास्थलमै दशी प्रमाणका रूपमा सुरक्षित नराखी प्रहरीले आफूसँग लैजानु पनि अनुसन्धानको दृष्टिले उचित नभएको उनले बताए।
३:३१ देखि ६ बजेसम्म पटक–पटक फोन
ढेकरीमा सिंहसँगै व्यावसायिक फर्म सञ्चालन गर्दै आएका कपिलवस्तुको यशोधरा गाउँपालिका–४ हथिहवाका रामअशोक चाईका अनुसार शुक्रबार दिउँसो ३:३१ बजे सिंहको फोन आएको थियो।
सिंहले आफूले बाटो बिराएको बताएपछि चाई र उनका एक साथीले उनलाई खोज्न थाले। त्यसको केही समयपछि ३:४० बजे फेरि सिंहको फोन आएको चाईले बताए। त्यसबेला सिंहले बाटो बिराएको, बाटोमा फसेको र खोला समेत रहेको बताएका थिए।
सिंहले मोबाइलको ब्यालेन्स सकिन लागेको जानकारी गराएपछि चाईले घटनाबारे प्रहरीको १०० नम्बरमा समेत जानकारी गराएका थिए। सिंहलाई खोज्ने क्रममा उनी चेत्रादेईस्थित तिलौराकोट साझेदारी वनको कार्यालय पुगे र कोषाध्यक्ष बलराम तिवारीलाई घटनाबारे जानकारी गराए। त्यहाँबाट सिंहको मोबाइलमा ५०० रुपैयाँ ब्यालेन्ससमेत पठाइएको थियो।
तिवारीले साँझ करिब साढे ५ बजे सिंहलाई फोन गर्दा फोन उठेको थियो। सिंहले आफूले बाटो बिराएको भन्दै बचाउन आउन आग्रह गरेका थिए।
त्यसपछि तिवारीले कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष जाहिद खाँलाई फोन गरी जानकारी गराए। खाँले साँझ ५:३८ बजे २२ सेकेन्ड सिंहसँग कुराकानी गरेका थिए। कुराकानीका क्रममा सिंहको श्वास फुलेको, आफूले बाटो बिराएको र चाँडै बचाउन आउन आग्रह गरेको खाँले बताएका छन्।
खाँले प्रहरी निरीक्षक दीपक कुँवर तथा इलाका प्रहरी कार्यालय गोरुसिंगेलाई समेत घटनाबारे जानकारी गराएका थिए।
इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट फोन गर्दा पनि सिंहले फोन उठाउँदै आफू बाटो बिराएको र बचाउन आउन आग्रह गरेका थिए।
शुक्रबार साँझ करिब ६ बजेसम्म सिंहको चाई, बलराम तिवारी, जाहिद खाँ तथा इलाका प्रहरी कार्यालय गोरुसिंगेसँग फोन सम्पर्क भइरहेको थियो। त्यसपछि भने फोनमा रिङ गए पनि सिंहले उठाउन छाडेका थिए।
चाईका अनुसार सिंहले मोटरसाइकल भेटिएको स्थानसम्मसमेत आफैँ मोटरसाइकल लिएर पुग्न सक्ने अवस्था थिएन। बाटो साँघुरो र हिलाम्य भएकाले त्यहाँ मोटरसाइकल लैजान कठिन रहेको उनको भनाइ छ।
त्यसैगरी शव फेला परेको स्थानसम्म पुग्न खोला पार गर्नुपर्ने भएकाले सिंह त्यहाँसम्म आफैँ पुगेकोमा समेत उनले प्रश्न उठाएका छन्।
‘फोनमा बचाउन गुहार मागिरहेका सिंह करिब ७ सय मिटर परको घना झाडीमा कसरी पुगे?’ चाईले प्रश्न गरे।
उनले सिंहको आर्थिक कारोबारका विषयमा आफूलाई केही जानकारी रहेको भन्दै अनुसन्धानका क्रममा प्रहरीलाई पूर्ण सहयोग गर्ने बताए। घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने उनको माग छ।
साँझ ६ बजेपछि फोन उठेन, राति १२ बजेसम्म रिङ गयो
साँझ ६ बजेपछि सिंह सम्पर्कविहीन भएका थिए। उनको मोबाइलमा राति १२ बजेसम्म रिङ गएको थियो तर फोन रिसिभ भएको थिएन।
सिंहको खोजी शुक्रबार साँझ साढे ६ बजेदेखि नै सुरु गरिएको थियो। शनिबार तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो। तर सिंह फेला परेनन्।
आइतबार दिउँसो बैकुण्ठपुरका गाउँलेहरूले घना झाडीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
यसअघि सिंहले चढ्ने लु प्र ०१३ प ७९७० नम्बरको एभेन्जर मोटरसाइकल जंगलको करिब एक किलोमिटर फायरलाइन क्षेत्रमा वनपाले हनुमान यादवले फेला पारेका थिए। खोजीका क्रममा खोल्सावारी क्षेत्रमा मात्रै ध्यान दिइएको थियो। पछि मोटरसाइकल भेटिएको स्थानबाट करिब ७ सय मिटरभित्रै शव फेला परेको थियो।
प्रहरीका अनुसार शव फेला परेको स्थानबाट सिंहको मोबाइल, पर्स, हेलमेट, मोटरसाइकलको चाबी र नगदसमेत बरामद भएको थियो।
शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको थियो। सोमबार पोस्टमार्टम गरिएको थियो भने सोही राति रामघाटमा अन्त्येष्टि गरिएको थियो।
हत्या कि भवितव्य ?
घटनाबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सहितको टोलीले सूक्ष्म अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय र ब्युरोसहितको टोलीले घटनाका विभिन्न पाटोमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता तथा प्रहरी निरीक्षक दीपक कुँवरले बताए।
प्रारम्भिक विवरणअनुसार शवमा बाहिरी चोटपटकको कुनै स्पष्ट निशानी नदेखिएको र सिंहसँग मोबाइल, हेलमेट, चाबी, नगदलगायतका सामान फेला परेको कुँवरले जानकारी दिए।
‘घटना भवितव्य हो कि हत्या, अहिले हामीले केही भन्न सक्दैनौँ,’ उनले भने, ‘घटनाको गहन अनुसन्धान भइरहेको छ। पोस्टमार्टम रिपोर्ट आएपछि सत्यतथ्य बाहिर आउँछ।’
प्रहरीले विभिन्न व्यक्तिसँग सोधपुछ गर्नुका साथै मोबाइलको कल डिटेल र घटनाका दिन उक्त क्षेत्रमा प्रयोग भएका मोबाइलको विवरणसमेत प्राविधिक टोलीमार्फत संकलन गरिरहेको छ।
सिंहको घरमा रहेका आर्थिक कारोबारका डायरी, टिपोटलगायतका दस्तावेजसमेत प्रहरीले अनुसन्धानका लागि लगेको छ। प्रहरी उपरीक्षक मनोहर भट्टले घटनाका विभिन्न पाटोबाट अनुसन्धान भइरहेको बताउँदै घटनाको विस्तृत विवरणसहित सत्यतथ्य चाँडै बाहिर ल्याउने बताए।
को थिए किरण सिंह?
किरण सिंह २०७४ देखि २०७९ सालसम्म नेपाली कांग्रेसबाट कपिलवस्तु नगरपालिकाका मेयर थिए। यसअघि उनी २०३९ र २०६४ सालमा उपमेयर समेत भएका थिए।
२०७९ सालको स्थानीय तह निर्वाचनमा भने उनी मेयर पदमा पराजित भएका थिए। सिंहका श्रीमती र दुई छोरा छन्।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













