दाङ, भदौ ११  गते  । परेवालाई शान्तिको प्रतीक मानिन्छ । नेपाली समाजले परेवा शान्तिको प्रतीक मात्र नभई शुभसङ्केतका रूपमा पनि लिने गरेको छ ।

केही वर्ष पहिलेसम्म घरका छाना, बतासी र कुनाकाप्चामा परेवाले गुँड लगाउनु गाउँमा फरक दृश्य हुन्थ्यो तर गाउँको स्वरूप फेरिँदै जाँदा परेवाले गुँड लगाउने ठाउँको अभावमा परेवा गाउँघरबाट हराउन थालेका छन् ।

कुनै समय गाउँका अधिकांश घरमा देखिने परेवा अहिले फाट्टफुट्ट मात्रै देखिन थालेका छन् । कच्ची घरका छाना र डेवालको भित्तामा सहजै गुँड बनाउने परेवाका लागि पक्की घरमा त्यस्ता ठाउँ कम हुँदै गएका छन् ।

घोराही उपमहानगरपालिका–६, लख्वारका निमबहादुर चौधरीका अनुसार गाउँमा कच्ची घर हुँदा प्रायः हरेक घरमा परेवा बस्थे । उहाँले भन्नुभयो, “अहिले पक्की घर बन्न थालेपछि परेवा देखिन छाडेका छन् । सायद नयाँ खालका पक्की भवनमा वासस्थानको अभाव भएको हुन सक्छ ।”

पहिले घरमा परेवा बसोस् भनेर घरका बतासी तथा छानामुनि छिट्वा, गैजा जस्ता सामग्री झुन्ड्याएर सुरक्षित ठाउँ बनाइदिने चलन रहेको पनि उहाँले बताउनुभयो तर अहिले उक्त चलन हराउँदै गएपछि परेवा पनि गाउँमा बस्न छाडेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार परेवा प्रायः मानिस बस्ने घरमै वासस्थान बनाउन रुचाउँछन् । उहाँका अनुसार मानिस नबस्ने घरमा परेवा बस्न रुचाउँदैनन् । घरमा मान्छे बस्ने भएपछि परेवा पनि मान्छेसँंग रमाउन रुचाउँछन्, खाने आहार पनि पाउने भएकाले पनि होला ।

पक्की घरसँगै घरको बनोट र मानिसको सोचाइमा आएको परिवर्तन पनि परेवाका लागि चुनौती बनेको छ । परेवाले घर फोहोर बनाउने र दिसाले भित्ता तथा आँगन फोहोर हुने भएकाले पनि होला । पहिला जस्तो कसैले पनि छिट्वा र गैजा घरमा झुन्ड्याउँदैनन् । पहिला कच्ची घरमा परेवाका लागि बस्ने ठाउँ प्रशस्त हुन्थ्यो । अहिलेका घरमा प्वाल पनि हुँदैनन् । सिसाका झ्याल लगाउने भएकाले आधुनिक घरमा परेवा बस्न रुचाउँदैनन् ।

बिहान उज्यालो हुनासाथ छानामुनिबाट सुनिने परेवाको गुटुरगुटुर आवाजले गाउँघरमा छुट्टै रौनक थप्ने गरेको उहाँको सम्झना छ । परेवा गाउँबाट हराउँदै जानु एउटा चराको वासस्थान हराउनु मात्र नभई बदलिँदो ग्रामीण जीवनशैलीको सङ्केतसमेत भएको चौधरीको बुझाइ छ । कुनै समय बिहानै घरका छानामुनि गुटुरगुटुर गर्दै सुनिने परेवाको आवाज अहिले धेरै गाउँमा दुर्लभ बन्दै गएको उहाँ बताउनुहुन्छ ।