तौलिहवा(कपिलवस्तु), भदौ ११ गते । कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित आर्या बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार रुपियाँ आर्थिक सहयोग गरेको छ ।
संस्थाका अध्यक्ष प्रकाश घिमिरे सहितको टोलीले प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमलाई ५१ हजार रुपियाँको चेक हस्तान्तरण गरेको हो । रसुवामा आएको विनाशकारी बाढीपछि राहत तथा उद्धारका लागि सरकारले आर्थिक सहयोगको आह्वान गरेअनुसार संस्थाले सहयोग उपलब्ध गराएको जनाएको छ ।
संस्थाका अध्यक्ष घिमिरेले बुधबार तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, धादिङ, नुवाकोट लगायतका जिल्लामा भएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभयो ।
उहाँले देशलाई ठूलो क्षति पुगेको यस कठिन समयमा आर्या बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सानो सहयोग स्वरूप रकम प्रदान गरेको बताउनुभयो । अध्यक्ष घिमिरेले विपत्तिबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सबै व्यक्ति तथा संघसंस्थालाई आफ्नो क्षमता अनुसार सहयोग गर्न समेत आग्रह गर्नुभएको छ ।
चेक हस्तान्तरण कार्यक्रममा आर्या बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक शुभम श्रेष्ठ, समाजसेवी अनुप कुमार पाण्डेय, माधु सुदन भट्टराई, कृष्ण मोहन शुक्ला, मुकेश श्रीवास्तव लगायतको सहभागिता रहेको थियो ।