जीवन सुधार परियोजनाको वार्षिक परिचयात्मक गोष्ठी सम्पन्न
। दलित सामाजिक विकास केन्द्र र युनाइटेड मिसन टु नेपाल (यूएमएन) को संयुक्त साझेदारीमा सञ्चालित जीवन सुधार परियोजनाको वार्षिक परिचयात्मक गोष्ठी यशोधरा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।
दलित सामाजिक विकास केन्द्रका अध्यक्ष सुरजमती पासीको अध्यक्षतामा सम्पन्न गोष्ठीमा यशोधरा गाउँपालिकाका उपाध्यक्ष प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रतिनिधि, मत्स्य विकास अधिकृत महेन्द्र यादव, गाउँपालिकाका विभिन्न वडाका अध्यक्ष, शाखा प्रमुख तथा सरकारी एवं गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।
गोष्ठीमा जीवन सुधार परियोजनाअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न भएका प्रमुख गतिविधि, उपलब्धि, समस्या, चुनौती तथा सिकाइका विषयमा समीक्षा गरिएको थियो। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तावित बजेट, कार्यक्रम तथा क्रियाकलापबारे परियोजना अधिकृत रमेशप्रसाद कुर्मीले प्रस्तुतीकरण गर्नुभएको थियो।
प्रस्तुतीकरणपछि सहभागीहरूले परियोजनाका आगामी कार्यक्रमलाई थप प्रभावकारी बनाउन सुझाव तथा पृष्ठपोषण दिएका थिए।
कृषि ज्ञान केन्द्रका प्रतिनिधि युवराज ढकालले परियोजनासँग सहकार्य गरी मकै, केरा, तोरी तथा कालानमक धानलगायतका बालीको उत्पादन र प्रवर्द्धनमा सहकार्य गर्न सकिने बताउनुभयो। उहाँले कृषकको उत्पादन वृद्धि र बजारीकरणका लागि सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो।
त्यस्तै, गाउँपालिकाभित्र रहेका पोखरीको व्यवस्थापनलाई व्यवस्थित बनाउन परियोजनाको सहजीकरणमा तयार गरिएको पोखरी व्यवस्थापनसम्बन्धी कार्यविधिको मस्यौदा गाउँपालिकाबाट पारित भएमा आगामी कार्यक्रम सञ्चालनमा सहजता हुने पशु सेवा शाखाका प्रमुखले बताउनुभयो। उहाँले स्थानीय स्रोतको संरक्षण तथा उत्पादनमुखी उपयोगका लागि गाउँपालिका र परियोजनाबीच थप समन्वय आवश्यक रहेको धारणा राख्नुभयो।
मत्स्य विकास अधिकृत महेन्द्र यादवले पशुपालन तथा दुग्ध उत्पादनलाई व्यवस्थित र व्यावसायिक बनाउन कृत्रिम गर्भाधान सेवा आवश्यक रहेको बताउनुभयो। पशुको नस्ल सुधार, पशु स्वास्थ्य सेवा, प्राविधिक तालिम तथा आवश्यक सहयोगलाई निरन्तरता दिन सकेमा दूध उत्पादनमा वृद्धि गर्न सकिने उहाँको भनाइ थियो।
गोष्ठीमा सहभागी सरोकारवालाले जीवन सुधार परियोजनाले कृषि, पशुपालन, मत्स्यपालन, वातावरण संरक्षण, आयआर्जन तथा समुदायको आर्थिक र सामाजिक सशक्तीकरणका क्षेत्रमा गर्दै आएको कामलाई आगामी दिनमा थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
उनीहरूले स्थानीय सरकार, परियोजना, कृषक तथा अन्य सरोकारवाला निकायबीचको सहकार्य र समन्वयलाई प्राथमिकता दिँदै स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए।
गोष्ठीले गत आर्थिक वर्षका उपलब्धि तथा सिकाइको समीक्षा गर्दै आगामी आर्थिक वर्षका कार्यक्रमलाई स्थानीय आवश्यकता र प्राथमिकतासँग जोडेर कार्यान्वयन गर्ने आधार तयार गरेको आयोजकले जनाएको छ।
कार्यक्रमको सञ्चालन परियोजनाका कृषि प्राविधिक इन्द्रेशप्रसाद थारुले गर्नुभएको थियो।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













