मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक दिने
तौलिहवा(कपिलबस्तु), भदौ १६ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य सहित प्रदेश सरकारका मन्त्रीहरूले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने भएका छन् ।
रसुवा लगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले मुख्यमन्त्री तथा मन्त्रीहरूले १५ दिन बराबरको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेका हुन् ।
मुख्यमन्त्री आचार्यको अध्यक्षतामा सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री तथा मन्त्रीहरूको आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
बैठकले विपद् प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड रुपियाँ पठाउने निर्णय समेत गरेको छ । बाढीपहिरोमा परी मृत्यु भएका नागरिकका परिवारलाई प्रतिपरिवार एक लाख रुपियाँका दरले थप राहत उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।
थप राहत उपलब्ध गराउन प्रदेश विपद् व्यवस्थापन कार्य सञ्चालन निर्देशिका संशोधन गरी आवश्यक व्यवस्था मिलाउने निर्णय भएको प्रवक्ता घिमिरेले बताउनुभयो ।
रसुवा लगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट लुम्बिनी प्रदेशका नागरिकसमेत प्रभावित भएपछि प्रदेश सरकारले उद्धार, राहत तथा पुनःस्थापनालाई प्राथमिकतामा राख्दै आएको छ ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













