संविधान दिवसमा अल–कलमका विद्यार्थीको सचेतनामूलक र्याली
कपिलवस्तु । कृष्णनगर नगरपालिका–८ बहादुरगञ्जस्थित अल–कलम पब्लिक स्कुलले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा शनिबार विभिन्न कार्यक्रम आयोजना गरेको छ।
विद्यालय परिसरमा राष्ट्रिय झण्डोत्तोलन, पुष्पवृष्टि तथा विद्यार्थीका मन्तव्यसहित कार्यक्रम गरिएको हो। विद्यार्थीहरूले नेपालको संविधानले सुनिश्चित गरेका मौलिक हक, बालअधिकार, समानता, स्वतन्त्रता, शिक्षा तथा नागरिकका कर्तव्यका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए।
कार्यक्रमपछि विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारको सहभागितामा सचेतनामूलक र्याली निकालिएको थियो। विद्यार्थीले राष्ट्रिय झण्डा तथा संविधान, नागरिक अधिकार, बालअधिकार, शिक्षा, समानता, राष्ट्रिय एकता र नागरिक कर्तव्यसम्बन्धी सन्देश लेखिएका प्लेकार्ड बोकेका थिए।
र्यालीका क्रममा विद्यार्थीले संविधान, नागरिक अधिकार, बालअधिकार र राष्ट्रिय एकतासम्बन्धी सचेतनामूलक नारा लगाउँदै बहादुरगञ्ज चोक हुँदै जमुनीतर्फ यात्रा गरेका थिए। बहादुरगञ्ज चोकमा विद्यार्थीहरूले माइकमार्फत संविधान तथा नागरिक अधिकारका विषयमा मन्तव्यसमेत प्रस्तुत गरेका थिए।
विद्यालयका संस्थापक तारिक अजिज खानले संविधान दिवसलाई विद्यार्थीमा संविधान, अधिकार र कर्तव्यबारे व्यवहारिक ज्ञान तथा जिम्मेवार नागरिकताको भावना विकास गराउने अवसरका रूपमा मनाइएको बताउनुभयो। उहाँले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै समाज र राष्ट्रप्रतिको जिम्मेवारीबारे सचेत गराउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
विद्यालयमा फर्किएपछि कार्यक्रम समापन गरिएको थियो। संविधान दिवसलाई औपचारिकतामा सीमित नराखी विद्यार्थीमार्फत संविधान र नागरिक अधिकारका सन्देश समुदायसम्म पुर्याउने उद्देश्यले कार्यक्रम गरिएको विद्यालयले जनाएको छ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













