राजु चौधरी थारु
बडका अत्तवारी पर्व नेपालको तराई क्षेत्रमा मुल बसोबास रहेको थारु समुदायले मनाउने परम्परा देखि चलि आएको एक महान पर्व हो । जुन चाही माघी पछिको दोस्रो ठुलो चाडपर्वको रुपमा मनाईन्छ । यो पर्व तिथि अनुसार भदौ कृष्ण औसी अर्थात कुसे औसीको भोलीको दिन देखी गणना गर्दा ६ दिन पछि आउने पहिलो आईतबारको दिन मनाईने गरिन्छ ।

यदी कुसे औसीको ६ दिन भित्र नै आईतबार पर्न गयो भने त्यो आईतबार जुठो परेयो भनेर नमनाउने र आउने आईताबारका दिन मनाउने चलन रहेको छ । थारु पुर्खहरुको भनाई अनुसार पहिला पहिला यो पर्व पाँच वटा आईताबार मनाउने गर्दथे, तिथि अनुसार पर्ने आईताबारलाई बडका अत्तवारी र त्यसपछि पर्ने चार वटा आईताबारलाई छोटका अत्तवारी भनेर मनाउने प्रचलन थियो ।

समयको परिवर्तनसँगै अहिले आएर यो पर्व एक दिन मात्र मनाउने गरिन्छ । यस पर्वको आफ्नै किसिमको मौलिक परम्परा र सस्कृति रहेको छ । प्रकृति पुजक थारु समुदायले यो पर्व किन मनाउछन र मनाउने प्रचलन कुन समय देखी र किन रहन गयो भनेर कुनै किसिमको लिखित दस्तावेत भेटिएको छैन । बिभिन्न पौराणिक कथा, किमवदन्ती तथा भनाईहरु रहेका छन तर ति भनाईहरुले यहि नै कारणले थारु समुदायले यो पर्व मनाउने गर्दछे भनेर सत्य तथ्य प्रष्टसँग पुष्टि गर्न नसकेकोले यस पर्वको उत्पत्तिको बारेमा अन्योल नै रहेको छ, यो बिषयमा अझै खोज अनुसन्धान हुन जरुरी रहेको देखिन्छ । तथापि बडका अत्तवारी पर्व महाभारत कालसँग सम्बन्धित रहेको छ ।

पाण्डवहरु आफ्नो बनबासको क्रममा घुम्दै फिर्दै जब थारु बस्तिमा पुगे थारु समुदायले तिनिहरुको स्वागत सत्कारमा कुनै किसिमको कमि राखेनन जुन देखेर पाण्डवहरु थारु समुदायसँग एकदम प्रशन्न भए सोही समयमा थारु समुदाय माथी ठुलो सङकट आईपरयो जसको निवारण भिमले गरेका थिए त्यो आईताबारको दिन थियो सोही खुशिहालीमा थारु समुदायले यो पर्व मनाउने गर्दछन भनेर थारु पुर्खाहरुको भनाई रहेको पाईन्छ । तर यो कुरा महाभारतको ग्रन्थमा कहि पनि उल्लेख भएको पाईदैन यसलाई थारु लोककथाको रुपमा लिने गरिन्छ । यो पर्व थारु समुदायले परम्परा कालदेखी नै मनाउदै आईरहेको जसमा सुर्य भगवानको पुजा आराधना गरि तथा ब्रत बस्नेले ब्रत बसि यो पर्व मनाईन्छ ।

सुर्य भगवानलाई उज्यालोको देवता मान्ने गरिन्छ मानिसको जिवनमा पनि अध्यारो दिन अर्थात दुखको दिन समाप्त भई उज्यालो दिन आओस भनेर नै सुर्य भगवानको पुजा आराधना गरेर यो पर्व मनाईन्छ । यो पर्वको अवसरमा थारु बस्तिहरुमा बिशेष किसिमको चहलपहल, खसियाली र रौनक देखिन्छ । यो पर्वमा विवाह भई गएका चेलिबेटीहरुलाई बोलाउने मिठो मिठो परिकारहरु बनाएर खुवाउने र आफ्नो क्षमता अनुसार लुगा कपडा तथा दक्षिण दिई बिदाई गर्ने चलन रहेको छ यसबाट के बुझन सकिन्छ भने थारु समुदायमा महिलाहरुकोे स्थान उच्च रहेको छ ।

यस दिन बिहान सबेरै उठि नुहाईधुवाई गरेर सुर्य भगवानको पुजापाठ गरि परिवारका सबै सदस्यहरु एकै ठाऊँमा जम्मा भई नयाँ नयाँ लुगाहरु लगाउने मिठा मिठा परिकारहरु बिशेष गरि पुरि मुख्य परिकारको रुपमा रहने गर्दछ र अरु खिर, सेवई तथा अन्य परिकारहरु बनाएर खाने साथीभाई, ईष्ट मित्रहरुलाई बोलाएर खुवाउने तथा शुभकामना आदान प्रदान गर्ने चलन रहेको छ जसले गर्दा परिवार, साथीभाई, ईष्टमित्रहरुसँगको सम्बन्ध सुमधुर बनाउनमा यो पर्वको बिशेष महत्व रहेको छ ।

यस दिन प्राय जसो सन्तानको दिर्घायु र सफलताको कामनाको लागी ब्रत बस्ने गरिन्छ । यस दिन ब्रत बस्नाले पुजा अराधना गर्नले घरमा दैवि कृपा प्राप्त हुने र परिवारमा सुख, समृद्धि र शान्ति आउने भन्ने विश्वास रहेको छ ।