कपिलवस्तु, असोज १६ गते । नेपाल हुँदै भारततर्फ लैजान लागिएको चिनियाँ कद्दूको बीउ र छिल्कासहितको अखरोट भारत–नेपाल सीमा क्षेत्र खुनुवाँबाट बरामद गरिएको छ ।

भारतको खुनुवाँ सीमा नाकामा कस्टम, सशस्त्र सीमा बल (एसएसबी) र प्रहरीको संयुक्त टोलीले नेपालबाट भारततर्फ फर्किरहेका दुई बुलेट ट्रकको जाँच गर्ने क्रममा १३ हजार ८४० किलो कद्दूको बीउ र १० हजार ८२० किलो छिल्कासहितको अखरोट बरामद गरेको हो ।

संयुक्त टोलीले यूपी ४७ एटी २५०१ र यूपी ४७ एटी १९१३ नम्बरका दुई ट्रकलाई नियन्त्रणमा लिएको थियो । तीमध्ये एउटा ट्रकका चालक र सहचालकलाई नियन्त्रणमा लिइएको छ भने अर्को ट्रकका चालक र सहचालक अँध्यारोको फाइदा उठाउँदै फरार भएका छन् ।

प्राप्त विवरणअनुसार दुवै ट्रक सेप्टेम्बर २१ मा टाँडाबाट फ्लाई ऐस लिएर नेपालको रुपन्देहीस्थित भैरहवाको सम्राट सिंह ट्रेडिङ कम्पनीका लागि आएका थिए । सेप्टेम्बर २२ मा खुनुवाँ नाकाबाट नेपाल प्रवेश गरेका दुवै ट्रकले भैरहवामा फ्लाई ऐस झारेपछि बिहीबार साँझ भारततर्फ फर्किएका थिए ।

मुखबिरबाट सूचना प्राप्त भएपछि खुनुवाँ कस्टम बेरियरनजिक दुवै ट्रकलाई रोकेर जाँच गरिएको थियो । प्रारम्भिक जाँचका क्रममा कुनै शङ्कास्पद वस्तु फेला नपरे पनि चालक तथा सहचालकले सोधपुछमा सहयोग नगरेपछि थप शङ्का लागेर ट्रकलाई नियन्त्रणमा लिइएको थियो । त्यसपछि शुक्रबार बिहान गरिएको गहन जाँचका क्रममा ट्रकको माथिल्लो भागमा सामान लुकाउन छुट्टै फाटक बनाइएको फेला परेको हो ।

ट्रकको माथिल्लो भागमा बनाइएको फाटक एमसिल पदार्थले बन्द गरिएको अवस्थामा थियो । फाटक खोलेर जाँच गर्दा यूपी ४७ एटी २५०१ नम्बरको ट्रकबाट ४०–४० किलोका ३४६ बोरा गरी १३ हजार ८४० किलो चिनियाँ कद्दूको बीउ बरामद भएको थियो । त्यसैगरी यूपी ४७ एटी १९१३ नम्बरको ट्रकबाट १०–१० किलोका एक हजार ८२ वटा बोरा गरी १० हजार ८२० किलो छिल्कासहितको अखरोट बरामद भएको थियो ।

पक्राउ परेका चालक सुल्तानपुरका कोडवा थाना बहपुरा निवासी उमापति तिवारी र सहचालक अमेठी कोतवाली बरेठा निवासी अखिलेश पाण्डेयले सामान तौलिहवाबाट लोड गरी बस्ती लैजान लागेको बताएका छन् ।

बरामद सामानसहित दुवै ट्रकलाई आवश्यक कारबाहीका लागि खुनुवाँ कस्टम कार्यालयमा बुझाइएको जनाइएको छ ।

कारबाहीमा एसएसबीका सहायक कमान्डेन्ट नीलेश सन्तोष मासुले, इन्स्पेक्टर पंकज सिंह, कस्टम अधीक्षक अनिलकुमार सिंह, इन्स्पेक्टर कपूर सिंह, इन्स्पेक्टर रमेश र खुनुवाँ चौकी प्रभारी सुरेश यादव  लगायतकाे सहभागिता रहेकाे थियाे ।