विजयनगर, २१ असोज ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा ३ सय ७ जनाले सेवा लिएका छन् । शिविरमा मोतिबिन्दु देखिएका १ सय ६६ जनाको शल्यक्रिया गरिएको छ ।
शिविरको पहिलो दिन १ सय ७० जनाले आँखाको परीक्षण तथा उपचार सेवा लिएका थिए । जसमध्ये १ सय १९ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो । यस्तै, दोस्रो दिन आज १ सय ३७ जनाले सेवा लिएका छन् भने ४७ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ ।
विजयनगर गाउँपालिकाको आयोजना तथा छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगञ्जको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । मोतिबिन्दु भएका बिरामीहरूको शल्यक्रिया विजयनगर आधारभूत अस्पताल, बद्धौरमा गरिएको गाउँपालिकाले जनाएको छ ।
ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा आँखासम्बन्धी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो । शिविरमार्फत आँखाको परीक्षणसँगै आवश्यक उपचार तथा मोतिबिन्दुको शल्यक्रिया निःशुल्क रूपमा उपलब्ध गराइएको छ ।