सक्रिय समूह सदस्यलाई तरकारीको बीउ वितरण गर्दै साना किसान सहकारी
कपिलवस्तु । साना किसान कृषि सहकारी संस्था लिमिटेड निग्लिहवाले आफ्ना सक्रिय समूह सदस्यलाई मौसमी तरकारीको बीउ वितरण गर्ने भएको छ । संस्थाले सूचना जारी गर्दै सक्रिय समूह सदस्यलाई तोकिएको मापदण्डका आधारमा तरकारीको बीउ उपलब्ध गराउने जनाएको हो ।
संस्थाका अनुसार नियमितरूपमा समूह बचत गर्दै आएका शेयर सदस्यलाई मात्र बीउ वितरण गरिनेछ । प्रत्येक समूहको समूह अध्यक्ष, उपाध्यक्ष वा सचिवमध्ये कुनै एक जनालाई समूहको सम्पूर्ण सक्रिय सदस्यको विवरणसहित सहकारीबाट बीउ उपलब्ध गराइने र प्राप्त बीउ सदस्यलाई समानुपातिकरूपमा वितरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।
तरकारीको बीउ करैसावारीका लागि वितरण गरिने जनाइएको छ । आर्थिकरूपमा विपन्न सदस्यले व्यावसायिक कृषि गर्न चाहेमा प्रत्येक अन्तरसमूहबाट बढीमा पाँच जनालाई बीउ उपलब्ध गराइने संस्थाले जनाएको छ । वितरण गरिने बीउमा हरियो मटर, च्याउ सेमी, धनियाँ ९पात उत्पादनका लागि०, मुला र पालुङ्गो सागलगायतका तरकारीका बीउ रहेका छन् ।
सहकारीका प्रबन्धक बसन्त मुराउले समूहमा नियमित बचत गर्दै आएका सक्रिय सदस्यलाई लक्षित गरी मौसमी तरकारीको बीउ वितरण गर्न लागिएको बताउनुभयो । उहाँले उपलब्ध गराइएको बीउको सही सदुपयोग गरी घरायसी उपभोगसँगै व्यावसायिक तरकारी उत्पादनतर्फ सदस्यलाई प्रोत्साहित गर्ने उद्देश्य रहेको बताउनुभयो ।
“सहकारीका सक्रिय सदस्यलाई उत्पादनसँग जोडेर उनीहरूको आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले तरकारीको बीउ वितरण गर्न लागेका हौँ,” प्रबन्धक मुराउले भन्नुभयो, “सदस्यले बीउको उचित सदुपयोग गरी उत्पादन बढाउन आवश्यक छ ।”
संस्थाले बीउ वितरणका लागि सम्बन्धित समूहका प्रतिनिधिलाई सहकारीको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । साथै कपिलवस्तु नगरपालिका–६ र वडा नं.१० तथा ११ का लागि छुट्टाछुट्टै सम्पर्क व्यक्तिमार्फत जानकारी लिन सकिने सूचनामा उल्लेख छ ।























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













