समृद्धिका लागि उडान परियोजनाको संयुक्त अनुगमन
कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका विभिन्न वडामा सञ्चालन भइरहेको ‘समृद्धिका लागि उडान’ परियोजनाअन्तर्गतका उद्यम तथा व्यवसायको संयुक्त अनुगमन गरिएको छ।
दलित सामाजिक विकास केन्द्र र केयर नेपालको आर्थिक सहयोगमा सञ्चालित परियोजनाअन्तर्गत गाउँपालिकाको वडा नं। ४ र ६ मा सञ्चालन भएका उद्यम तथा व्यवसायको प्रगति, उपलब्धि, प्रभावकारिता र दिगोपनाको अवस्था बुझ्न जिल्ला तथा पालिकास्तरीय संयुक्त अनुगमन गरिएको हो।
अनुगमनका क्रममा शुद्धोधन गाउँपालिका–४ को मधुनगर र महादेव तथा वडा नं। ६ को बास्कोर र कर्मा क्षेत्रमा सञ्चालित विभिन्न उद्यम तथा व्यवसायको स्थलगत अवलोकन गरिएको थियो। अनुगमन टोलीले सुनिता पासीको डल तथा कुशन निर्माण उद्योग, रिमा चमारको कस्मेटिक पसल, रोशनी कोरी र ज्योति बरईको किराना पसल, शालु कुर्मीको कस्मेटिक पसल, सोनमती कुर्मीको तरकारी तथा कृषि व्यवसाय, दुर्गामती लोहारको खाजा तथा नास्ता पसल, सुमित्रा कुर्मीको बाख्रापालन र उर्मिला पासीको किराना पसलको अवस्था अवलोकन गरेको थियो।
अनुगमनका क्रममा परियोजनाबाट प्राप्त सीप, ज्ञान तथा सहयोगको उपयोग, व्यवसायबाट भइरहेको आम्दानी, आर्थिक आत्मनिर्भरता, उद्यम सञ्चालनका चुनौती तथा व्यवसायको निरन्तरताका विषयमा उद्यमीसँग छलफल गरिएको थियो।
जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले परियोजनामार्फत सीप र सहयोग प्राप्त गरेका उद्यमीले त्यसलाई व्यवहारमा उतार्दै आर्थिक रूपमा आत्मनिर्भर बन्ने दिशामा अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले स्थानीयस्तरमै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने भएकाले उपलब्धिको निरन्तरता र दिगोपनामा ध्यान दिनुपर्ने धारणा राख्नुभयो।
शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशरण चौधरीले स्थानीय महिलालाई उद्यमशील बनाउँदै आयआर्जनमा जोड्ने परियोजनाको प्रयास सकारात्मक रहेको बताउनुभयो। उहाँले उद्यमीलाई व्यवसाय विस्तार र निरन्तरताका लागि स्थानीय सरकारका तर्फबाट आवश्यक समन्वय र सहकार्य गरिने बताउनुभयो।
गैरसरकारी संस्था महासङ्घ कपिलवस्तुका अध्यक्ष जयप्रकाश पाण्डेले सीपमूलक तालिम र आर्थिक सहयोगलाई उत्पादन तथा आम्दानीसँग जोड्न सके मात्रै परियोजनाको वास्तविक उपलब्धि देखिने बताउनुभयो। उहाँले उद्यमीलाई बजारको पहुँच, व्यवसाय व्यवस्थापन र निरन्तरताका लागि आवश्यक सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो।
संयुक्त अनुगमनमा जिल्ला समन्वय समितिका उपप्रमुख रमेश कुर्मी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय खड्का, गैरसरकारी संस्था महासङ्घका अध्यक्ष जयप्रकाश पाण्डे, संस्थाका सचिव रोहित कोरी, परियोजना संयोजक रत्नबहादुर डाँगीलगायत पालिकाका कर्मचारी तथा संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।


























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













