रुपन्देही । रुपन्देहीको मायादेवी गाउँपालिका–७ का १४८ स्ववासी परिवारले लामो प्रतीक्षापछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

साविक हाटीबगाई गाविस वडा नं. ६ मा वर्षौंदेखि बसोबास गर्दै आएका परिवारले जग्गाको नापजाँच सम्पन्न भएको करिब १३ वर्षपछि लालपुर्जा पाएका हुन्।

नापी कार्यालय रुपन्देहीले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो। उक्त क्षेत्रको नापजाँच तथा नक्साङ्कन कार्य २०७० सालमै सम्पन्न भएको भए पनि विभिन्न कानुनी तथा प्रक्रियागत कारणले पुर्जा वितरण हुन सकेको थिएन।

मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरीले वर्षौंदेखि जग्गाको स्वामित्वको प्रतीक्षामा रहेका नागरिकले लालपुर्जा प्राप्त गर्नु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले बाँकी रहेका भूमिसम्बन्धी समस्या समाधानका लागि स्थानीय सरकारले आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो।

नापी कार्यालय रुपन्देहीका प्रमुख मणि रेग्मीले कानुनी प्रक्रिया पूरा गरी १४८ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको जानकारी दिनुभयो। उहाँले २०७० सालमै नापजाँच सम्पन्न भए पनि प्रक्रियागत कारणले वितरणमा ढिलाइ भएको बताउनुभयो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले जग्गाधनी प्रमाण पुर्जा प्राप्त हुनु नागरिकको आर्थिक, सामाजिक तथा कानुनी सुरक्षाका लागि महत्वपूर्ण आधार भएको बताउनुभयो। जग्गाको स्वामित्व सुनिश्चित भएपछि सम्पत्तिको उपयोग, संरक्षण तथा कानुनी कारोबार गर्न सहज हुने उहाँको भनाइ थियो।

नापी कार्यालय रुपन्देहीका प्रमुख मणि रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष चौधरीको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष नर्मदा देवी उपाध्यायको विशिष्ट आतिथ्यता रहेको थियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल, नापी अधिकृत सूर्यबहादुर कार्की, वडा नं. ७ का वडाध्यक्ष शैलेन्द्रकुमार पाण्डेयलगायतको सहभागिता थियो। अमिन लक्ष्मण घिमिरेले कार्यक्रमबारे जानकारी दिनुभएको थियो भने सञ्चालन अमिन ह्रदेश बानियाले गर्नुभएको थियो।

लालपुर्जा प्राप्त भएसँगै लामो समयदेखि जग्गाको स्वामित्वविहीन अवस्थामा रहेका १४८ परिवारको सम्पत्तिमाथिको कानुनी अधिकार स्थापित भएको छ। यसबाट उनीहरूको आर्थिक तथा सामाजिक सुरक्षामा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।