कपिलवस्तु । कपिलवस्तु नगरपालिकाको एक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री तथा अभिभावकलाई खाद्यान्न वितरण गरिएको छ।

नगरपालिकाको वडा नं. ८ बेलौहास्थित श्री रामजानकी आधारभूत विद्यालयका ८४ जना विद्यार्थीलाई पोशाक, टोपी, स्विटर, कापी, कलम, झोला र पेन्सिल वितरण गरिएको हो। त्यसैगरी विद्यार्थीका अभिभावकलाई चामल र तेल उपलब्ध गराइएको थियो।

कार्यक्रममा नगरप्रमुख सुदीप पौडेलले यस्ता सहयोगी कार्यक्रमले बालबालिकाको पढाइप्रति उत्साह बढाउनुका साथै समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउन सहयोग पुग्ने बताउनुभयो। विद्यार्थीलाई शैक्षिक सामग्री र अभिभावकलाई खाद्यान्न उपलब्ध गराउने कार्य प्रशंसनीय रहेको उहाँको भनाइ थियो।

राइट टु एक्सेस नेपालका विनोद पौडेलले यस्ता कार्यक्रमले विपन्न परिवारका बालबालिकालाई शिक्षा प्राप्त गर्न सहज बनाउने बताउनुभयो। उहाँका अनुसार विद्यालयमा कक्षा १ देखि ४ सम्म अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो।

कार्यक्रममा लुम्बिनी विकास कोषका पूर्वसदस्य राजेश ज्ञवालीले आफूहरूले विभिन्न सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै शिक्षामा आधारित कार्यक्रमलाई प्राथमिकता दिइने बताउनुभयो। फाउन्डेसनमार्फत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न गतिविधि सञ्चालन भइरहेको र त्यसले समुदायमा सकारात्मक प्रभाव पारेको उहाँले जानकारी दिनुभयो।

शिक्षक राम असेसर यादवको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मनोज यादवले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।