काम नगर्नेलाई तालिम दिनु उपलब्धिविहीन हुन्छ : पन्थी
कपिलवस्तु, असोज २२ गते । लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य विष्णु पन्थीले काम गर्ने इच्छाशक्ति नभएकालाई तालिम दिँदा त्यसको उपलब्धि नहुने बताउनुभएको छ।
मायादेवी साझेदारी वन व्यवस्थापन समूहको १४औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले स्थानीय सरकारले काम गर्न इच्छुक व्यक्तिलाई प्राथमिकतामा राखेर तालिम दिनुपर्ने बताउनुभयो। प्रदेश, स्थानीय तह, सङ्घ तथा विभिन्न सङ्घसंस्थाले तालिमका नाममा ठूलो रकम खर्च गरे पनि त्यसअनुसार उपलब्धि देखिन नसकेको उहाँको भनाइ थियो।
“काम नगर्नेलाई तालिम दिनुको अर्थ हुँदैन,” उहाँले भन्नुभयो, “तालिमका नाममा जथाभावी खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गरी उपलब्धिमूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ।”
डिभिजन वन कार्यालयका प्रमुख प्रभात सापकोटाले वनको दिगो व्यवस्थापनका लागि उपभोक्ता समूह, स्थानीय तह र वन कार्यालयबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभयो। वन संरक्षणसँगै त्यसबाट प्राप्त हुने लाभको दिगो उपयोग र व्यवस्थापनमा सबै पक्षको समन्वय हुनुपर्ने उहाँको भनाइ थियो।
मायादेवी साझेदारी वन व्यवस्थापन समूहका अध्यक्ष दिनेशकुमार जयसवालले उपभोक्ताको सहभागिता र सहकार्यले वन संरक्षणलाई थप प्रभावकारी बनाउन सहयोग पुगेको बताउनुभयो। वन संरक्षणसँगै पर्यापर्यटनको विकासलाई अघि बढाउन समूहले गुरुयोजना निर्माणको तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो।
साधारण सभामा समूहको वार्षिक प्रगति, आर्थिक अवस्था तथा आगामी कार्ययोजनालगायत विषयमा छलफल गरिएको थियो।
























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













