तौलिहवा, माघ ३ गते । हरेक वर्ष शैक्षिक सत्र सुरु भए देखि वैशाख १५ सम्म ‘भर्ना अभियान’ सञ्चालन गर्दै आए पनि कपिलबस्तुको मायादेवी गाँउपालिकामा ४ सय बढी बालबालिका विद्यालय बाहिरै रहेका छन् । जिल्लाको मायादेवी गाँउपालिकामा ४ सय ३९ जना बालबालिकाहरु अझै विद्यालय बाहिरै रहेको एक तथ्यांकले देखाएको छ । गाँउपालिकाको प्रत्येक वडामा प्रगतिशिल यूवा संजालले तथ्यांक संकलन गर्दा पालिका भित्र विद्यालय नजाने ५ देखि १८ वर्ष उमेर समुहका बालबालिका चार सय ३९ जना रहेका छन् । जसमा छात्रा २ सय २८ र छात्र २ सय ११ रहेका छन् ।
मायादेवी गाँउपालिकामा आयोजना गरिएको विद्यालय नजाने बालबालिकाहरुको तथ्यांक प्रस्तुतिकरण तथा सरोकारवाला निकायहरु संग बाल संरक्षण सम्बन्धि बहस छलफल कार्यक्रममा सो तथ्यांक प्रस्तुत गरिएको हो । प्रस्तुत गरिएको तथ्यांकमा ५ देखि १० वर्षका ९२, १० देखि १५ वर्षका २ सय ६ र १५ देखि २० वर्ष सम्मका १ सय ४१ जना रहेको प्रगतिशिल युवा संजालकी अध्यक्ष सुनिता कोहारले बताउनुभयो । सो मध्ये २ सय ४३ जना घरायसी समस्याका कारण विद्यालय छाडेका, १ सय ३४ जनाको इच्छा नभएर र ३ जना शारिरिक अपांगताका कारण विद्यालय नगएका उहाँको भनाई छ ।
तथ्यांक अनुसार मायादेवी गाँउपालिका वडा नं. १ मा ५४, वडा नं. २ मा ११५, वडा नं. ३ मा १६, वडा नं. ४ मा ४६, वडा नं. ५ मा १३०, वडा नंं ६ मा ३४, वडा नंं ७ मा ५७ र वडा नं. ८ मा ३४ जना बालबालिका विद्यालय बाहिर रहेका छन् ।
लाभको कुरा आयो भने अभिभावक पहिले विद्यालय पुग्ने गरेको प्रदेश सभा सदस्य मधुसुदन शरण चौधरीले बताउनुभयो । जब सम्म सोचमा परिवर्तन हुदैन तब सम्म कुनै किसिमको विकास नहुने उहाँले बताउनुभयो ।
विद्यालय जाने उमेरका बालबालिकालाई आउने शैक्षिक शत्र देखि विद्यालय भर्ना गराउने र १५ देखि २० वर्ष उमेरकालाई विभिन्न किसिमका सिप विकास तालिम दिइएकर स्वारोजगार बनाइने गाँउपालिकाका अध्यक्ष वलिउद्धिन खाँले बताउनुभयो । विद्यालय बाहिर रहेको बालबालिकालाई विद्यालयमा भर्ना गराउन पालिकाले विशेष योजना बनाएर अगाडी बढ्ने उहाँले बताउनुभयो । त्यती बालबालिका विद्यालय बाहिर रहनु चुनौतीको विषय रहेको प्रमुख प्रशासकिय अधिकृत प्रमेश्वर यादवले बताउनुभयो ।
अभिभावकका साथै विद्यालयका शिक्षकहरुले पनि विशेष जोड दिनु पर्ने गाँउपालिकाका सामाजिक विकास अधिकृत बैतुल्ला धुनियाले बताउनुभयो । कार्यक्रममा सनशाइन विकास संस्थाका अध्यक्ष शिवलाल यादवले त्यती बालबालिका विद्यालय बाहिर रहनु चुनौतीको विषय रहेको बताउनुभयो । अभिभावक अशिक्षित भएको कारणले यस्तो समस्या भएको बताउनुभयो । मायादेवी गाँउपालिका वडा नं. ४ का वडाध्यक्ष असफाक अहमद खां र वडा नं. ५ का वडाध्यक्ष राघबेन्द्र पाण्डेयले भएको तथ्यांकलाई वडामा उपलब्ध गराएर अगामी दिनमा विद्यालय बाहिरा रहेका बालबालिकालाई विद्यालय भर्ना गराउने बताउनुभयो ।
कार्यक्रममा विभिन्न विद्यालयका प्रअ, शिक्षक, अभिभावक, विद्यार्थी, विभिन्न वडाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !