विद्यालयमा पोषण बगैँचा र दिवा खाजा प्रवद्र्धन गर्न प्रतिबद्धता
कपिलवस्तु, असोज ५ गते । विद्यालयमा विद्यार्थीको पोषण अवस्था, नियमित उपस्थिति र सिकाइ उपलब्धि सुधारका लागि दिवा खाजा तथा पोषण बगैँचा कार्यक्रमलाई प्रभावकारी बनाउने प्रतिबद्धता गरिएको छ ।
बुद्धभूमि नगरपालिकाका वडा नं. ५, ६, ७, ८ र १० अन्तर्गतका ३३ विद्यालयलाई लक्षित गरी आयोजित विद्यालय दिवा खाजा तथा विद्यालय पोषण बगैँचा सम्बन्धी पैरवी कार्यक्रममा सहभागी सरोकारवालाले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यमकान्त पाण्डेले दिवा खाजा कार्यक्रमलाई विद्यार्थीको स्वास्थ्य र शिक्षासँग जोडेर प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले पोषण सुधारसँगै विद्यालयको सरसफाइ र स्वच्छतालाई समेत प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
“पोषणको क्षेत्रमा सुधार ल्याउन दिवा खाजा कार्यक्रम महत्वपूर्ण छ । पोषणसँगै विद्यालयको सरसफाइ र स्वच्छतालाई पनि प्राथमिकता दिनुपर्छ,” उहाँले भन्नुभयो । उहाँले स्थानीय तहलाई बालमैत्री स्थानीय शासनको अवधारणाअनुसार सञ्चालन गर्दै बालबालिकाको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुका प्रमुख माधव बन्जाडेले दिवा खाजा विद्यार्थीको पोषण सुधारमा मात्र नभई विद्यालयको गुणस्तर, नियमित उपस्थिति र सिकाइ उपलब्धि सुधारसँग समेत सम्बन्धित रहेको बताउनुभयो ।
“विद्यार्थीको नियमित उपस्थिति र सिकाइ उपलब्धि बढाउन दिवा खाजाको महत्वपूर्ण भूमिका हुन्छ,” उहाँले भन्नुभयो, “विद्यालयमा दिवा खाजामार्फत सामाजिक पुँजी निर्माण गर्ने अवसरसमेत सिर्जना हुन्छ ।”
कार्यक्रममा सहभागीले ‘स्थानीय उत्पादन, पोसिलो खाजा, विद्यालयमा पोषण बगैँचा’ भन्ने अवधारणालाई विद्यालय तहमा प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसैगरी ‘स्वस्थ विद्यार्थी, जिम्मेवार विद्यालय–हामी सबैको प्रतिबद्धता’ भन्ने नारासहित विद्यालयमा पोषणयुक्त स्थानीय उत्पादनको प्रयोग बढाउने, पोषण बगैँचा स्थापना तथा संरक्षण गर्ने र विद्यार्थीको स्वास्थ्यमा सुधार ल्याउन सरोकारवालाबीच सहकार्य गर्ने प्रतिबद्धता गरिएको थियो ।
कार्यक्रममा पालिका शाखा प्रमुख, वडा नं. ५ का वडाध्यक्ष रोमबहादुर थापा, वडा नं. ८ का वडाध्यक्ष कपिलदेव तिवारी, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिलगायतको सहभागिता थियो । कपिलवस्तु इन्टिग्रेटेड डेभलपमेन्ट सर्भिसेजका परियोजना संयोजक गोपाल कँडेलले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभएको थियो ।
कपिलवस्तु इन्टिग्रेटेड डेभलपमेन्ट सर्भिसेजका अध्यक्ष अनिरुद्धनाथ शुक्लाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय दिवा खाजा तथा पोषण बगैँचा प्रवद्र्धनका विषयमा छलफल तथा प्रस्तुतीकरण गरिएको थियो ।
बुद्धभूमि नगरपालिका र सुरक्षा किशोरकिशोरी सञ्जाल, राजपुर सामुदायिक सिकाइ केन्द्रको आयोजनामा भएको कार्यक्रममा विएमजडे, वेल्थ हंगर हिल्फे, नेपाल ग्रामिण पुननिर्माण संस्था र कपिलवस्तु इन्टिग्रेटेड डेभलपमेन्ट सर्भिसेज लगायतको सहकार्य तथा समन्वय रहेको थियो ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













