कपिलबस्तु, पुस २०
जिल्ला समन्वय समिती कपिलवस्तुको चौथो जिल्ला सभा कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको छ । सभामा समन्वय समितिका प्रमुख नारायण प्रसाद खनालले समितिका नितिहरु प्रस्तुत गरेका थिए । प्रमुख खनालले जिल्लाको सन्तुलित विकास गर्न जिल्ला भित्रका सबै स्थानीय तहहरुको विकास निर्माणका बिषय पहिचान गर्ने र सो को ब्यबस्थापन गर्न आवश्यक समन्वयलाई प्रभावकारी बनाईने, जिल्ला भित्र गैरसरकारी संघ संस्थाहरुबाट संचालन भईरहेका र संचालन हुने योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने तथा जिल्लामा रहेका संघिय तथा प्रदेश सरकारी कार्यालय र स्थानीय तहहरुको बिचको समन्वयलाई प्रभावकारी बनाउने जस्ता नितिहरु प्रस्तुत गरेका थिए । त्यस्तै खनालले जिल्लाका पालिकाले खुल्ला दिसामुक्त, पुर्ण खोप तथा बालविवाह मुक्त घोषणा गरेअनुसार त्यसको प्रभावकारी कार्यान्वयन तर्फ पालिका प्रमुख तथा उप प्रमुखले ध्यान दिन आवश्यक रहेको बताए । प्रमुख खनालले सबै पालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई क्षमता विकासका तालिम सञ्चालन गर्ने, बिकास निर्माणका कामलाई तिब्रता दिने सम्बन्धमा तथा बहुक्षेत्रीय पोषण अन्तर्गतका सबै सुचकहरु पुरा भए नभएको अनुगमन गर्ने जस्ता नितिहरु प्रस्तुत गरेका थिए ।
जिल्ला समन्वय अधिकारी भुमिराम पोख्रेलले आर्थिक बर्ष २०७७÷७८ को यथार्थ तथा चालु आर्थिक बर्ष २०७८÷७९ को अनुमानित बजेट प्रस्तुत गरेका थिए । अधिकारी पोख्रेलले समितिका अयास्रोत, बार्षिक आयव्यय प्रस्तुत गर्दै स्थानीय तहले बेरुजु शुन्यमा झार्न आवश्यक रहेको बताए ।
कार्यक्रममा सहभागी सरोकारवालाहरुले छाडा पशुचौपाया ब्यबस्थापन हुन नसकेको, फोहोरमैला ब्यबस्थापन गर्न नसकेको लगायतका बिषयमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जिल्ला समन्वय समितिले ल्याएका २१ बुदे नितिले साझा धारणा समावेश गरेको बताए । कपिलवस्तु जिल्लाका मुद्धा हेर्ने निकायलाई ऐन नियम तथा नितिबारे प्रशिक्षण दिन आवश्यक रहेको बताए । जिल्ला स्थानीय तहले फोहोरमैला तथा छाडा पशु चौपाया ब्यबस्थापन गर्न नसक्नु दुःखद रहेको बताए । हरेक पालिकाले केहि निति निर्माण गर्न बाँकी रहेकाले विभिन्न योजना अलपत्र परेको बताए । राष्ट्रिय परिचय पत्र तथा मतदाता नामावली तथा मतदान सम्बन्धी नागरिकलाई शिक्षा दिनुपर्ने बताए । नदी जन्य पदार्थ उतखनन्, सीमा नाकाको विवादमा पालिका पालिका बिचमा समन्वय गरेर अगाडि बढ्दा राम्रो हुने बताउदै आ आफ्ना पालिकाको राजश्व बृद्धि गर्नमा ध्यान दिन आवश्यक रहेको बताए । सरकारले लागु गरेको निःशुल्क शिक्षा कार्यान्वयनको प्रक्रिया प्रति ध्यान दिन सिडिओ पाण्डेले अनुरोध गरे ।
कार्यक्रममा महाराजगंज नगरपालिकाका प्रमुख अब्दुल कलाम खाँ, यशोधरा गाउँपालिकाका उपाध्यक्ष कन्यावती उपाध्याय, जिल्ला समन्वय समितिका उप प्रमुख तारावती चौधरी लगायतले सरोकारवालका जिज्ञासहरुको जवाफ दिंदै आ आफ्नो धारणा राखेका थिए ।
जिल्ला सन्वय समिति प्रमुख खनालको अध्यक्षता समन्वय समिति सदस्य तेज बहादुर रायमाझिको धन्यवाद ज्ञापन तथा सुरेन्द्र प्रसाद बेल्बासेको सञ्चालन रहेको कार्यक्रममा गाउँपालिका र नगरपालिकाका प्रमुख तथा उप प्रमुख, पत्रकार लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया !