मायादेवी गाउँपालिका–५ का ३ सय ८५ कृषकलाई स्प्रे ट्याङ्की वितरण
कपिलबस्तु, माघ २५ गते । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ५ ले ३ सय ८५ जना कृषकलाई स्प्रे ट्याङ्की वितरण गरेको छ । उक्त ट्याङ्की ८० प्रतिशत अनुदानमा वितरण गरेको हो । आधुनिक कृषि प्रविधि अपनाउँदै उत्पादन वृद्धिमा टेवा पु¥याउने उद्देश्यले वडाले उक्त अनुदान कार्यक्रम सञ्चालन गरेको हो ।
स्प्रे ट्याङ्की वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष वलिउद्दिन मुसालमान, प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण तेली, वडा अध्यक्ष राघवेन्द्र प्रसाद पाण्डे, वडा सचिव श्यामकुमार कामत, वडा सदस्य अनुप कुमार तिवारी, स्थानीय जनप्रतिनिधि तथा अन्य कर्मचारीको उपस्थिति रहेको थियो ।
सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष मुसलमानले कृषकलाई आत्मनिर्भर बनाउन विभिन्न अनुदान कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो “हाम्रो पालिकाको प्राथमिकता कृषि क्षेत्रको विकास हो। किसानलाई प्रविधिमैत्री बनाउन र उत्पादन वृद्धि गर्न यस्ता कार्यक्रमले ठुलो भूमिका खेल्नेछ । आगामी दिनमा पनि कृषकलाई थप उपकरण तथा प्राविधिक सहयोग उपलब्ध गराउनेछौं ।“
वडा अध्यक्ष राघवेन्द्र प्रसाद पाण्डेले कृषकको हितका लागि वडा कार्यालय प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो “हामी किसानको समस्या बुझेर समाधान ल्याउन प्रयासरत छौं । यो स्प्रे ट्याङ्की वितरण कार्यक्रमले विषादी छर्ने प्रक्रियालाई सजिलो बनाउनुका साथै उत्पादन सुधारमा योगदान पु¥याउने विश्वास लिएका छौं ।“
कार्यक्रममा सहभागी किसानहरूले अनुदानमा स्प्रे ट्याङ्की प्राप्त गर्दा खेतीमा सहयोग पुग्ने भन्दै खुसी व्यक्त गरेका छन् ।































