कपिलवस्तु, बैशाख २७ । कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर ४ ले ८५ प्रतिशत अनुदानमा कृषकहरूलाई स्प्रे ट्याङ्की वितरण गरेको छ। शनिबार सम्पन्न कार्यक्रममा १५३ जना कृषकहरूलाई स्प्रे ट्याङ्की वितरण गरिएको हो।

वडा अध्यक्ष अहमद अली खाँनले कार्यक्रमको नेतृत्व गर्दै स्प्रे ट्याङ्की वितरण गरे। कार्यक्रममा वडा सचिव राम सुभाग यादवसहित अन्य जनप्रतिनिधि तथा कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो।

वडा अध्यक्ष खानले कृषकको कृषि उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले स्प्रे ट्याङ्की वितरण गरिएको बताए। उनले भने, “कृषकहरूको मेहनतलाई सहजीकरण गर्न हामीले यथासक्य सहयोग गरिरहेका छौं। यो कार्यक्रम पनि त्यसैको एक हिस्सा हो।”

स्प्रे ट्याङ्की पाएपछि कृषकहरू खुसी देखिन्थे। स्थानीय कृषक बाबुराम यादवले भने, “यसरी सहज रूपमा ट्याङ्की पाउँदा खेतीमा कीटनाशक छर्न सजिलो हुन्छ। हामीलाई ठूलो राहत मिलेको छ।”

वडाले आगामी दिनमा पनि यस्ता प्रकारका सहयोगी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ।