काठमाडौं । सरकारले एकैपटक १३ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ)को हेरफेर गरेको छ। गृह मन्त्रालयले काठमाडौंमा छविलाल रिजाललाई सिडिओमा सरुवा गर्दै हालका सिडिओ ऋषिराम तिवारीलाई मन्त्रालयमा तानेको छ।

यस्तै, सोलुखुम्बु, रसुवा, मनाङ, बाजुरा, मुगु, म्याग्दी, कालिकोट, रुकुम पश्चिम, ताप्लेजुङ, डोल्पा, हुम्ला र रुकुम पूर्वमा कार्यरत सिडिओहरूलाई समेत फिर्ता बोलाइएको छ।

फिर्ता बोलाइएका मध्ये अनोजकुमार घिमिरे, अर्जुन पौडेल, मातृका आचार्य, मेघनाथ पाध्या, कमलप्रसाद पाण्डे, गुरुदत्त ढकाल, नारायणप्रसाद भट्टराई, कुलबहादुर जीसी, नेत्रप्रसाद शर्मा, रोमबहादुर महत, नारायण पाण्डेय र रुद्रप्रसाद न्यौपाने रहेका छन्।

नयाँ सिडिओ नियुक्त गरिएकामध्ये गणेशप्रसाद पौडेललाई बाजुरा, लिलाकुमारी केसी पाण्डे सोलुखुम्बु, राजेश पन्थी रसुवा, नवराज पौडेल मनाङ, शिवराज सेढाइ ताप्लेजुङ, खडानन्द खत्री मुगु, सिता परियार रुकुम पूर्व, बद्रीप्रसाद तिवारी म्याग्दी, गोकर्णराज सुयल कालिकोट, दिनेशप्रसाद थानी रुकुम पश्चिम, भीमराज कोइराला डोल्पा र टेककुमार रेग्मीलाई हुम्लाको सिडिओ तोकिएको छ।